News

Card image cap

कुशल उत्पादन अभ्यास (GMP) सम्बन्धी अभिमुखीकरण

2024-04-03 10:00 AM Pokhara

पोखरा विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकाय , स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेजले स्नातक तह  फार्मास्यूटिकल साइन्सेज कार्यक्रम अन्तर्गत अठ्ठारौँ तथा उन्नाइसौँ ब्याचका  विद्यार्थीहरुको लागि विश्व स्वास्थ्य सङ्गठनद्वारा सिफारिस गरिएको कुशल उत्पादन अभ्यास सम्बन्धी दुई दिने अभिमुखीकरण तालिम मिति २०८०.१२.२० र २१ गते पोखरामा सम्पन्न गरेको छ । प्रमुख अतिथिको आसनबाट बोल्दै  पोखरा विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकाय, स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेजका निर्देशक श्री विमला भट्ट  ज्यूले विद्यार्थीहरुको भविष्य आफ्नो मेहनत र लगनशीलताले निर्धारण गर्ने भन्दै, भीर, पाखा र खोल्सा–खोल्सीमा खेर जाने हर्रो, बर्रो, अमला, पाँच औले लगायतका  स्थानीय स्तरमा उपलब्ध जडिबुटिहरु उपयोग गरी उद्यमशीलताको विकास गदै देशलाई औषधिजन्य उत्पादनमा आत्मनिर्भर बनाउनु पर्ने कुरामा जोड दिनु भएको थियो । कार्यक्रममा अतिथिको रुपमा पाल्नु भएका पोखरा विश्वविद्यालय शिक्षण अस्पतालका निर्देशक डा. दिपेन्द्र कुमार यादवले विश्वविद्यालयले बजारले खोजे अनुसारको जनशक्ति उत्पादनमा जोड दिँदै तथा प्रयोगात्मक ज्ञानको दायरा  बढाउदै लगेको बताउनु भएको थियो । ज्ञान, सीप तथा मनोवृत्तिको संयोजित रूप शिक्षा भएको भन्दै कार्यक्रम सञ्चालक उप–प्राध्यापक अतिसम्मोदवर्धन कौण्डिन्न्यायनले विद्यार्थीहरुलाई आजीवन विद्यार्थी रहन तथा सदैव पेशागत मर्यादामा रहन आग्रह गर्नु भएको थियो ।

उक्त दुई दिने तालिममा कुशल उत्पादन अभ्यास कार्यक्रमका विविध पक्ष (Important elements of GMP, Formulation development, Contamination control and Data integrity, Perspective of Regulatory Authority)  का बारेमा स्रोत व्यक्तिहरु एस भि कर्णाटकी, किरण बज्राचार्य, महेश उपाध्याय र  अमित शाह, लगायतले आ–आफ्नो विषयमा प्रस्तुतिकरण दिनु भएको थियो । सहभागी विद्यार्र्थीहरुका तर्फबाट आकृति ढकाल र सुरज पौडेलले यस्ता कार्यक्रमले विद्यार्र्थीहरुमा थप आत्मबल र हौसला बढेको भन्दै आगामी वर्षहरुमा यस्ता  कार्यक्रमहरुले निरन्तरता पाउने अपेक्षा गरेका थिए । कार्यक्रममा सम्बद्ध प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुको  उपस्थिति रहेको थियो । तालिममा सहभागी विद्यार्थीहरुलाई प्रमुख अतिथिद्वारा प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रमको अन्त्यमा कार्यक्रम संयोजक सङ्गम सुवेदीले  अनुभव भन्दा ठूलो गुरु अर्को केही नभएको भन्दै अनुभव र ज्ञानलाई संयोजन गरी जीवनलाई अगाडि बढाउन विद्याथीहरुलाई आग्रह गर्नु भएको थियो ।

 

 

Share