2024-05-09 5 pm Pokhara
यही वैशाख २५ देखि २९ गतेसम्म काठमाडौँमा सञ्चालन भैरहेको नेपाल-चीन संयुक्त फार्मास्युटिकल कन्फेरेन्सको विस्तारित कार्यक्रम २०८१ वैशाख २७ गते पोखरामा सम्पन्न भयो ।पोखरा विश्वविद्यालय अन्तर्गत स्कूल अफ हेल्थ एण्ड अलाइड साइन्सेजको संयोजनमा सञ्चालन भएको उक्त कार्यक्रममा नेपाल र चीनका फार्मास्युटिकल साइन्स सम्बन्धित प्राज्ञिक तथा विज्ञ व्यक्तित्त्वहरूको सहभागिता थियो । नेपालका प्रा. बालमुकुन्द रेग्मी तथा चीनका प्रा. झीवेन चाङको संयुक्त अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा स्वागत भाषण गर्दै पोखरा विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकाय स्कूल अफ हेल्थ एण्ड अलाइड साइन्सेज निर्देशक विमला भट्टले यस प्रकारका कार्यक्रमले दुई देशका फार्मास्युटिकल साइन्सेज विषयका विज्ञ तथा अनुसन्धाताहरूबीचका सहकार्यका थप अवसरहरू प्रदान गर्ने विश्वास प्रकट गर्नुभयो ।
कार्यक्रममा बोल्दै चीनको साङ्घाइ परम्परमगत चिकित्सा विश्वविद्यालयका प्रा . गुओ कियाङ लिङले चिनिया परम्परागत चिकित्सा पद्धतिमाथि चीनमा भैरहेको अनुसन्धानबारे प्रकाश पार्नुभएको थियो भने साङ्घाइ इन्स्टिट्युट अफ मेटेरिया मेडिकाकी प्रा. होङ लिउले आफ्नो संस्थाले गरेको अनुसन्धान तथा उपलब्धिबारे प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरू बीच चीन र नेपालमा औषधि विज्ञानका विभिन्न विशिष्टीकृत क्षेत्रमा भैरहेका अध्ययन अनुसन्धानका विषयमा तथा विशेष गरी चीनमा प्रचलित परम्परागत उपचार पद्धति तथा नेपालमा प्रचलित आयुर्वेद लगायतका परम्परागत उपचार पद्धतिमा रहेको ज्ञानको संयुक्त रूपमा आधुनिक पद्धतिबाट खोज अनुसन्धानमा कार्य गर्न सकिने विषयमा छलफल भएको थियो ।
कार्यक्रममा गण्डकी विश्वविद्यालयका उपकुलपति प्रा. नवराज देवकोटा, गण्डकी प्रदेश सामाजिक तथा स्वास्थ्य मन्त्रालयका सचिव डा. विनोदबिन्दु शर्मा तथा गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काले पनि आ-आफ्नो विचार राख्नुभएको थियो भने कार्यक्रममा पोखरा विश्वविद्यालय स्कूल अफ हेल्थ एण्ड अलाइड साइन्सेजका प्राध्यापकहरूका अतिरिक्त पोखराका वरिष्ठ फार्मासिस्ट डा. चन्दन श्रेष्ठ, गण्डकी मेडिकल कलेज फार्मेसी विभाग प्रमुख बिन्दु मल्ल, गण्डकी विश्वविद्यालयका फार्मेसी विभागका प्रमुख प्रकाश पौडेल लगायतका विज्ञ फार्मासिस्टहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण पोखरा विश्वविद्यालयका उपप्राध्यापक अतिस कौण्डिन्यायनले गर्नुभएको थियो ।